माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, एमालेले बोलायो सचिवालय बैठक

१ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि काठमाडौंमा शुुरु हुँदै छ ।

तीन दिनसम्म चल्ने बैठकको मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे पनि छलफल हुने कार्यालय सचिव ढकालले बताए ।

गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई नै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको थियो । तर अन्य पदाधिकारीहरु अहिलेसम्म पनि चयन गरिएको छैन ।

एमालेको सचिवालय बैठक बस्दै 
प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ । केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ ।

हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया