बीमाको दायरा करिब ४० प्रतिशतमा पुग्यो, १ करोड बढी बीमालेख जारी

१ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको जेठसम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) करिब ४० प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १२.७१ प्रतिशतले बढेर ३९.८३ प्रतिशत पुगेको हो ।

गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा बीमाको पहुँच २७.१२ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित पनि बीमाको पहुँच ३६.९३ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । गत आर्थिक वर्षका यस अवधिमा बीमाको दायरा २४.८१ प्रतिशत मात्रै रहेको थियो ।

चालु आर्थिक वर्षको जेठसम्ममा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) १ करोड २६ लाख ३२ हजार ३७३ वटा बीमालेख जारी भएको समितिको तथ्यांक छ । यो गत आर्थिक वर्षको तुलनामा ४९।१८ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८४ लाख ६८ हजार १३५ वटा बीमालेख जारी गरेका थिए ।

यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि २७.३९ प्रतिशतले बढेर ८ लाख ७६ हजार ५४१ वटा बीमालेख जारी भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ६ लाख ८८ हजार ८८ वटा बीमालेख बिक्री गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरूको बीमालेख भने ४.७३ प्रतिशतले घटेर २३ लाख ४८ हजार २३२ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा २४ लाख ६४ हजार ९१३ वटा बीमालेख रहेको थियो ।

यस्तै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क पनि १९.२३ प्रतिशतले बढेर एक खर्ब ५३ अर्ब ६३ करोड ६९ लाख रुपैयाँ पुगेको बीमा समितिको तथ्यांक छ ।

गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब २८ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा बीमा कम्पनीहरुका ३ हजार ३५५ वटा शाखा कार्यालयहरुमा ११ हजार ८५१ जना कर्मचारीहरु कार्यरत छन् ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया