याम्पा–आँबुखैरेनी सडक अवरुद्ध, डुम्रे–बेँसीसहर सडक फेरी बन्द

१ बर्ष अगाडि

काठमाडौं - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ । 

डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध
निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो ।

रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया