आम्दानी ह्वात्तै बढेसँगै चन्द्रागिरी हिल्सले कमाउन थाल्यो नाफा, चुक्तापूँजी १ अर्ब ५३ करोड माथि

१ बर्ष अगाडि

काठमाडौं - चन्द्रागिरी हिल्स लिमीटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार कम्पनीको आम्दानी ह्वात्तै बढेसँगै नाफा कमाउन थालेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनी २७ करोड २६ लाख खूद घाटामा थियो । 

नाफा बढेसँगै नेगेटिभमा रहेको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६७ पैसा कायम भएको छ । प्रतिसेयर आम्दानी अत्यन्त कम भएको यो कम्पनीको दोश्रो बजार मूल्य भने प्रतिकित्ता ११०० हाराहारीमा रहेको छ । 

कोरोना प्रभावका कारण सुस्त बनेको पर्यटकहरुको आगमन तथा पर्यटकीय गतिविधि पछिल्लो समय बढेसँगै चन्द्रागिरी भ्रमण गर्नेहरु बढेका छन् । यहीकारण कम्पनीको आम्दानी ह्वात्तै बढेको हो । 

कम्पनीले यो अवधिमा ६६ करोड ९८ लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी २२ करोड १९ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको ग्रस इनकम ५६ करोड २५ लाख रहेको छ । अघिल्लो वर्ष १८ करोड ९१ लाख रुपैयाँ थियो । कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । 

समीक्षा अवधिसम्म कम्पनीको ऋण पूँजीको अनुपात २.०७ प्रतिशत, सेयरधनीको सेयर पूँजीकोषको प्रतिफल ०।०२ प्रतिशत, प्रतिसेयर नेटवर्थ ७४.२९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३४.७७ रुपैयाँ, पीई रेसियो ६२९.७१ गुणा र चालु अनुपात २.९९ प्रतिशत कायम भएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया