काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा थोरै बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल हुँदा लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.०७ प्रतिशत र सञ्चालन मुनाफा ७.१८ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत र अन्य सञ्चालन आम्दानी १०.६३ प्रतिशत बढेको छ ।
खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ ३० पैसा घटेर ३३ रुपैयाँ ८३ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ २७ पैसा रहेको छ ।
१७ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको सापटी १८.४६ प्रतिशत, निक्षेप ४१.४६ प्रतिशत र कर्जा २८.६३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया