भारतमा एकैदिन कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १० हजार कम, सक्रिय सङ्क्रमित कति

१ बर्ष अगाडि

एजेन्सी - भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम भएको  छ । यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । 

यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ११ हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखापरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार छ सय ४८ जना रहेका छन् । गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सय ६८ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । 

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया