‘अब चोक- चोकमा प्रोजेक्टरबाट फिल्म देखाउँछु’  : प्रदीप खड्का

१ बर्ष अगाडि

काठमाडौं- शुक्रवारबाट दुई आशातित फिल्म ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । तर, नेपाली माटो बोल्ने यी दुई फिल्मलाई विशेषगरी मल्टीप्लेक्स सञ्चालकहरुले भने सौतेनी व्यवहार देखाएका छन् । शुक्रवारबाटै प्रदर्शन भएको बलिउड फिल्म ‘लाइगर’लाई भएभरको शो थुपारेर हल सञ्चालकहरुले नेपाली फिल्मलाई भने झारो टार्ने शो मात्र दिएका छन् । क्यूएफएक्सको च्यानलमा त ३ बजेपछि दुवै फिल्मलाई शो छैन । 
 
‘प्रकाश’को टिमले भने शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै हल सञ्चालकहरुविरुद्ध आक्रोश देखिएको छ । ‘तर ,राधा’ टिम यसविषयमा मौन देखिएको छ ।
 
ऋषी धमलाको रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता प्रदीप खड्का आक्रामक शैलीमा प्रस्तुत भएका थिए । हल सञ्चालकहरुले ‘प्रकाश’लाई उपयुक्त शो टाइम उपलब्ध नगराए काठमाडौंको चोक चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने उनले घोषणा नै गरे । फिल्म हेर्न जाँदा शो नै छैन भनेर हलले फर्काएको गुनासो दर्शकहरुबाट आएको भन्दै उनले केही म्यासेजहरु पढेर समेत सुनाए । 
 
‘फिल्मको आउटलुक हेर्दा मास अपिलिङ लाग्दैन होला । तर, ‘प्रकाश’ नेपाली फिल्म क्षेत्रका लागि कलंकै हो भनेर पनि त कसैले भन्न सक्दैन होला,’ उनले भने, ‘३ बजेपछि फिल्मको शो नै छैन । ललितपुर हो मेरो घर । मेरो परिवारका सदस्यले ३ बजेपछि फिल्म हेर्न चाहे भने कि प्लेन चढाएर विर्तामोड पठाउनुपर्छ नभए ट्याक्सी चढाएर अरु ठाउँमा पठाउनुपर्छ । यो त ठूलो अन्याय हो नी ।’
 
जुम्लाको समस्या र परिवेश काठमाडौंलाई थाहा हुनुपर्छ भन्ने उद्देश्यले फिल्म निर्माण गरेको भए पनि फिल्मले काठमाडौंमै राम्रो शो नपाएको उनले गुनासो पोखे । आक्रामक शैलीमा प्रदीपले भने, ‘फिल्मले शो नै नपाएपछि देखाउने चाहिँ कहाँ ? एउटा फिल्म चलाउनका लागि सिनेमा हल नै त खोल्न सकिन्न । यदि शो नै नपाउने हो भने चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउन बाध्य हुनेछौं ।’
 
उनले पैसा कमाउन ‘प्रकाश’ नबनाएको पनि तर्क राखे । ‘फिल्मको माध्यमबाट हामीलाई केही भन्नु थियो । पैसै कमाउनु थियो भने निर्माताले किन फिल्म नै बनाउनु पर्थ्यो र ? ‘प्रेमगीत ३’ रिलिज नहुँदासम्म मलाई फिल्म नै गर्नु थिएन । तर, मैले गरेँ । किनकि, मलाई पनि केही भन्नु थियो । हाम्रो पैसा कमाउने उद्देश्य नै होइन । अब चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउने हो,’ उनले भने ।
 
प्रदीप फिल्मले राम्रो शो नपाउनुको कारण हल सञ्चालकको नियतमाथि खोट देख्छन् । नेपाली र विदेशी फिल्मलाई समान रुपले प्रदर्शन गर्नुपर्ने तर्क राख्दै उनले थपे, ‘फिल्म चलेन भने अर्को फिल्मलाई शो दिनुपर्छ । तर, अर्को फिल्म (लाइगर) को बुकिङ र रेस्पोन्स कस्तो छ अनि हाम्रो फिल्मको प्रिमियरपछि रिभ्यू कस्तो छ, मुल्यांकन नै नगर्ने ? काहिँ न काहिँ नियतमा खोट देख्छु ।’

१ बर्ष अगाडि

प्रतिक्रिया