ताप्लेजुङबाट योगेश भट्टराईसहित ५ जनाको नाम सिफारिस

१ बर्ष अगाडि

काठमाडौं - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ताप्लेजुङले केन्द्रीय सचिव योगेशकुमार भट्टराईसहित ५ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

एमाले ताप्लेजुङका उपसचिव एवम् प्रचार विभाग प्रमुख दीपेन पोमुका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस हुने अन्य चार जनामा पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य द्वय पासाङ शेर्पा र टङ्क आङ्बुहाङ तथा प्रदेश कमिटी सदस्य रामप्रसाद सुवेदी रहेका छन् ।

प्रतिनिधिसभाका लागि सिफारिस हुनेमा भट्टराई ताप्लेजुङका वर्तमान प्रतिनिधिसभा सदस्य हुन् भने मेन्याङ्बो पूर्व सांसद, शेर्पा पहिलो संविधानसभाका सदस्य र आङ्बुहाङ २०७४ मा ताप्लेजुङ निर्वाचन क्षेत्र १ 'ख' मा माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी माओवादी छोडेर एमालेमा लागेपछि प्रदेश सांसद पद खोसिएको थियो । यस्तै सुवेदी पूर्व जिल्ला उपसभापति हुन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य उर्मिला थेबे, पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा, लक्ष्मीबहादुर यक्सो, शिवकुमार गुरुङ र मिरा नेपालीको नाम सिफारिस गरिएको जिल्ला उपसचिव पोमुले जानकारी दिए ।

त्यस्तै, प्रदेशसभा १ 'क' को प्रत्यक्षतर्फ वर्तमान प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङसहित ११ जनाको नाम सिफारिस गरिएको छ । अन्य सिफारिस हुनेमा जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा, महेशकुमार गुरागाईँ, देउमान विष्ट, कुमार मादेन, भरतकुमार गुरुङ, हेमन्तकुमार उप्रेती, सुनिता थापा, नर्वदादेवी भण्डारी, गोपाल न्यौपाने र अनन्तबहादुर साँवा रहेका छन् । 

प्रदेशसभा १ 'ख' मा प्रत्यक्षतर्फ पाँच जना सिफारिस भएकोमा प्रदेशसभा सदस्य होमकुमारी साँवा, जिल्ला उपसचिव मणिशङ्कर पोमू, गोपाल थोप्रा, त्रिवेणी चोङ्बाङ र चित्रगुप्त साँवा रहेका छन् । प्रदेशसभाको समानुपातिकमा भने १८ जनाको नाम सिफारिस गरिएको एमाले ताप्लेजुङले जनाएको छ ।

जसअनुसार प्रदेशसभा 'क' र 'ख' दुवैबाट निर्मला इजम, टीकादेवी सुबेदी, टीकादेवी दाहाल, बुद्धिमान परियार, छत्रबहादुर विक र हरिलाल ठकुरी सुनाम रहेका छन् । त्यस्तै, कोपिला नेपाली, सञ्चपाल मादेन, सूर्यबहादुर आङ्बुहाङ, मङ्गलसिंह केदेम र हिमालयविक्रम चाम्लिङ, गणेश कार्की ढोली, राजेश प्याकुरेल, धर्मराज घिमिरे, वीरबहादुुर माबोहाङ, राधाकृष्ण पौडेल, इन्द्र शेर्पा र रामकुमार विश्वकर्माको नाम सिफारिस भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया