डेङ्गु सङ्क्रमण बढ्दै : सिटामोलको उच्च अभाव, ५० लाख उत्पादन गर्दै

१ बर्ष अगाडि

काठमाडौं - नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ ।

औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर त्यही सिटामोलजस्तो औषधिको अभाव भएको जनाइएको छ ।

काठमाडौँ उपत्यका लगायत देशका अन्य जिल्लामा दैनिक डेङ्गुका बिरामी बढिरहेका छन् । अहिलेसम्म छ हजारभन्दा बढी डेङ्गुका बिरामी पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ ।

५० लाख सिटामोल उत्पादन गर्दै
नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि सिटामोल औषधि बनाउनका लागि कच्चा पदार्थ आयात गर्न थालेको बताए । उनका अनुसार हप्ता दिनभित्रमा कच्चा पदार्थ आउने र त्यसपछि सिटामोल औषधि उत्पादन गर्ने जानकारी दिए । उनका अनुसार करिब ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्नका लागि कच्चा पदार्थ ल्याउन थालिएको छ ।

अहिले पनि औषधि लिमिटेडसँग करिब १५ लाख ट्याबलेट मौज्दात रहेको उनको भनाइ छ । सङ्घका उपाध्यक्ष सन्तोष बरालले बजारमा सुनेको जस्तो सिटामोलको अभाव नभएको बताए ।

उनका अनुसार नेपालमा बार्षिक १० करोड ट्याबलेट सिटामोलको माग माग रहेको छ । सङ्घले भने वार्षिक पाँचदेखि साढे पाँच करोड ट्याबलेट उत्पादन गरिरहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया