भाटभटेनी सुपरमार्केटमा पनि अब क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

१ बर्ष अगाडि

काठमाडौं - नेपालको सबैभन्दा ठूलो रिटेल चेनका रुपमा रहेको भाटभटेनी सुपरमार्केटमा पनि अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । 

नेपालपे क्यूआरलाई ग्राहकले नेपालपेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट अथवा कनेक्टआईपीएसमार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।

भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा डायनामिक नेपालपे क्यूआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । 

ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेटबाट नेपालपे चल्ने यकिन गर्न उक्त एपको क्यूआर स्क्यान्स स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ, २ वटा वालेट र कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ । 

नेपालपे क्यूआरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकमार्फत हालसम्म स्ट्याटिक क्यूआर, डायनामिक क्यूआर, क्यूआर गेटवे र क्यूआर पोसमार्फत ७० हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध भइसकेका छन् ।   

नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्किमका रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । 

नेपाल सरकारको राजस्व भुक्तानीसमेत क्यूआरबाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपालपे क्यूआर थप गरिएको छ । जसअन्तर्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंकिङ, वालेट, कनेक्टआईपीएसलगायतबाट सजिलै राजस्व भुक्तानीसमेत गर्न सकिने भएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया