भृकुटीमण्डपमा सुरु भयो दसैँलक्षित डिजी पे स्टक क्लियरेन्स मेला

१ बर्ष अगाडि

काठमाडौं - दसैँका लागि एकै छानामुनी किनमेल गर्न सक्नेगरी राजधानीको भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आजबाट सुरु भएको छ । दसैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला सञ्चालन गरेको हो । 

भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एकै छानामुनी दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए । ‘एकै छानामुनी सुपथ मूल्यमा आमउपभोक्तालाई दसैँको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो’, प्रधानले भने । 

मेलामा दसैँका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्यान्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेजलगायतका स्टलमा उपभोक्ताका आवश्यकताअनुसारका सामानहरु राखिनेछ । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ’, प्रधानले भने ।

नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवर्द्धन गरेको छ । दैनिक उपभोग्यवस्तु तथा घरायसी प्रयोगका वस्तुहरुको १०० प्रदर्शनी कक्ष रहेको एक्स्पोमा धेरै किसिमका वस्तु पाइन्छ । 

प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजीपेमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दसैँ विशेष छुट पाउनेछन् । बर्सेनि आयोजना हुँदै आएको एक्स्पोलाई यसपटक पनि निरन्तरता दिँदै ‘दसैँको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए । 

मेला असोज १० गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया