निर्वाचन आयोगद्धारा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण, शीर्ष नेतामध्ये कसले कतिसम्म खर्च गर्न पाउनेछन् ?

१ बर्ष अगाडि

काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । 

निर्वाचनका बेला उम्मेदवारले गर्ने अस्वाभाविक खर्चलाई नियन्त्रण गर्न आयोगले खर्चको सीमा तोकेको हो । भूगोल र मतदाताको संख्याका आधारमा आयोगले प्रतिउम्मेदवार २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ । 

आयोगले निर्धारण गरेको खर्चको सीमाअनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ डडेलधुराबाट उम्मेदवार बनेका देउवाको निर्वाचन क्षेत्रमा ९१ हजार हाराहारी मतदाता छन् ।

यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि ३१ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । ओली झापा–५ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बन्दैछन् । यो निर्वाचन क्षेत्रमा १ लाख ५४ हजार मतदाता छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । उनी गोरखा–२ का उम्मेदवार बनेका छन् । यो क्षेत्रमा १ लाख ५ हजार मतदाता छन् ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनको प्रचारप्रसारमा अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । उनी रौतहट–१ बाट उम्मेदवार बनेका छन् । यो निर्वाचन क्षेत्रमा १ लाख मतदाता छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया