सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने कांग्रेसको संकल्प

१ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने संकल्प गरेको छ । शनिबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा कांग्रेसले उक्त घोषणा गरेको हो । 

स्यानिटरी प्याडमा कर लगाएको विषयमा विवाद पछिल्ला केही वर्षयता हुँदै गएको छ । बजेटमार्फत स्यानिटरी प्याडमा कर लगाउने घोषणा हुँदा काठमाडौंका माइतीघरमा 'रातो कर माफ गर' भन्दै विरोध भएको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत तयारी स्यानिटरी प्याडको भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको छ ।

सरकारले दिएको छुटपछि पनि १.५ प्रतिशत भन्सार महसुल तिरेर यस्ता प्याड भित्रिएका छन् । तर पनि आयातित प्याडको मूल्य भने घट्नुको साटो बढेको पछिल्लो रिपोर्ट छ । यस्तो अवस्थामा सरकारको नेतृत्व गरिरहेको कांग्रेसले स्यानिटरी प्याड आवश्यक पर्ने सबै महिलालाई निःशुल्क उपलब्ध गराउने भनेको छ ।

कांग्रेसले घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने लक्ष्य लिएको छ । सबैलाई स्वास्थ्य बीमा र सबल स्वास्थ्य प्रणाली स्थापना गर्ने कांग्रेसले प्रतिबद्धता जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया