‘डिसेम्बर फल्स’ गीत : आर्यनले उपासनालाई फकाउनै नजानेका हुन त ?

१ बर्ष अगाडि

आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच ‘फकाउनै जानिनँ’ बोलको गीतत सार्वजनिक गरिएको छ ।  

सो गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत छ भने निशान भट्टराई र मेलिना राईको स्वर रहेको छ। 

भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा फिल्मका मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी छमछमी नाच्दै देखिएका छन् । 

गीत रिलिज कार्यक्रममा आर्यनले अहिलेको सिनारियोमा आफ्नो करिअरको उम्दा गीत ‘फकाउनै जानिनँ’ रहेको बताए । ‘पहिला र अहिलेमा गीत बन्ने सिनारियो अलग छ । अहिलेको सिनारियोमा यो मेरो करिअरको उम्दा गीत भन्न मिल्छ,’ उनले भने । आर्यनले आफूलाई दर्शकले लभस्टोरी फिल्ममा मन पराएकाले ‘डिसेम्बर फल्स’मा पनि त्यो चिज नछुटेको र दर्शक निराश नहुने दावी गरे ।

त्यस्तै, उपासनाले आर्यन सिग्देलसँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको बताइन् । उनले भनिन्, ‘आर्यन सरको आँखाले नै अभिनय गर्छ । उहाँ अनुभवी भएकाले पनि होला, सेटमा हामी हाँसीमजाक गरिरहेका हुन्थ्यौं अनि एकैछिनमा फिल्ममा रुने सिन हुँदा आर्यन सरले मज्जाले गर्दिनु हुन्थ्यो । मलाई चाहिँ अलि समय लाग्थ्यो । उहाँसँग काम गर्दा एकदमै सहज महसुस पनि भयो ।

नेपाली मुलका भारतीय निर्देशक प्रविण झाद्वारा निर्देशित तथा महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । उनले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ बनाइसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो । फिल्ममा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणाको पनि अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया