सर्भिस चार्ज र अतिरिक्त भ्याट लिएको भन्दै चितवनको सेन्ट्रल पाम्स होटललाई ७ दिनभित्र उपस्थित हुन वाणिज्य विभागको निर्देशन

१ बर्ष अगाडि

चितवनस्थित सेन्ट्रल पाम्स होटललाई एक साताभित्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा हाजिर हुन निर्देशन दिइएको छ । उपभोक्तासँग सर्भिस चार्ज र अतिरिक्त भ्याट लिएको भन्दै  सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सेन्ट्रल पाम्स होटलको नाममा पत्र काटेर एक साताभित्र मेनुसहित विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।

चितवनको नारायणगढमा रहेको उक्त होटलले मेनुमा उल्लेख गरेको रकममा १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत अतिरिक्त भ्याट लिएको भन्दै एक ग्राहकले विभागमा उजुरी गरेका थिए । उपभोक्ता तेजप्रसाद अर्याल र प्रदीप बोहोराको उजुरीका आधारमा विभागले उजुरी प्राप्त भएको २४ घण्टा नबित्दै होटलको नाममा ७ दिनभित्र उपस्थित हुन पत्र काटेको हो । 

नारायणगढमा रहेको उक्त होटलमा बास बस्न पुगेका ग्राहकद्वय तेजप्रसाद अर्याल र प्रदीप बोहोरासँग होटलले मेनुमा भएको र कोठाको शुल्कमा १० प्रतिशत सर्भिस चार्ज जोडी १३ प्रतिशत भ्याटसमेत थप गरी लिएको थियो । उक्त व्यवस्था मूल्य अभिवृद्धिकर नियमावली २०५३ को नियम १४ ख उपभोक्ता संरक्षण ऐनको दफा ६ को उपदफा २ (च), २(ञ), दफा ११ को ग, १२ ख, १६ (२) क लगायतको कानुन विपरीतको कार्य रहेको भन्दै उपभोक्ताले विभागमा उजुरी गरेका थिए । उजुरीमा ग्राहकले आफूहरूले अतिरिक्त रकम नतिर्ने भन्दा आफूहरूलाई जोर जबर्जस्ती गरी तिर्न बाध्य बनाएको हुँदा उक्त होटललाई तत्काल कारबाही गरी आफूहरूसँग बढी लिइएको रकम फिर्ता गराउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

उपभोक्ताले विभागमा उजुरी गरेपछि सोमबार नै विभागका तर्फबाट होटललाई पत्र लेख्दै मेनुमा नै सबै शुल्क समावेश हुने गरी मूल्य उल्लेख गरेको मेनु लिएर एक साताभित्र विभागको केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । 

यसअघि ग्राहकले आन्तरिक राजश्व कार्यालय भरतपुरमा उजुरी गरी उक्त होटललाई कारबाही गर्न र उपभोक्तासँग बढी लिइएको रकम फिर्ता गराउने वातावरण बनाइदिन आग्रह गरेका थिए । आन्तरिक राजश्व कार्यालय भरतपुरले समेत मंसिर ८ गते गरेको उजुरीको २४ घण्टा नबित्दै मंसिर ९ गते नै होटलमा पुगी कैफियत गरेको पाइएपछि कारबाही र मेनु सच्याउन निर्देशन दिई ग्राहकसँग बढी लिएको रकम फिर्ता गर्न मौखिक निर्देशन दिएको थियो । यद्यपि होटलले भने ग्राहकसँग बढी लिएको रकम अझै फिर्ता गरेको छैन ।

१ बर्ष अगाडि

प्रतिक्रिया