सुपरमाई हाइड्रोपावरको ५ लाख कित्ता आईपीओमा आज आवेदन दिन सकिने,कस/कसले दिन सक्ने आवेदन ?

१ बर्ष अगाडि

काठमाडौं-  सुपरमाई हाइड्रोपावर लिमिटेडले आज (मंसिर २१ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो भने ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरु (अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका (बरबोटे) ५, सुम्बेक २ र माईजोगमाई गाँउपालिका ५ सोयाँङ्गका स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाहरुको लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता शेयर बाँडफाँट गरिनेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछ। त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

१ बर्ष अगाडि

प्रतिक्रिया