गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा

१ बर्ष अगाडि

सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ। 

मंगलबारको मन्त्रिपरिषदको बैठकले पुसदेखि लागू हुनेगरी  गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। यसअघि यी ४ प्रकारका वस्तुको आयातमा गत साढे ८ महिनादेखि प्रतिबन्ध लगाइएको थियो। 

मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो। आजै बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको हो। 

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाइएको थियो भने ४ प्रकारका वस्तुहरु सबै प्रकारका निजी चारपांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३०० डलरमाथिका मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएको थियो।

राजस्व संकलन प्रभावित भएको अवस्थालाई ध्यानमा राखेर सरकारले प्रतिबन्ध खोल्ने निर्णय गरेको हो। अहिले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भइरहेकोले आयात प्रतिबन्धलाई लम्ब्याउन जरुरी नरहेको निष्कर्षमा सरकार पुगेको बताइएको छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया