काठमाडौं मेयर कप क्रिकेट अन्तर्रगत आज भएको खेलमा काठमाडौं मेयर्स ११ ले जित हासिल गरेको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौं मेयर्स ११ ले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।
काठमाडौंको जितका लागी कप्तान सन्दीप लामिछानेले अलराउण्ड प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ६ छक्कासहित ४२ रन बनाए भने बलिङमा ३ विकेट लिए ।
२४५ रनको लक्ष्य पाएको बागमती प्रदेशले ३४.३ ओभरमा सबै विकेट गुमाएर १५० रन मात्र बनायो। बागमतीका लागि पृथु बास्कोटाले ७९ बल खेल्दै ८ चौकाको मद्दतमा ६० रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र इशान पाण्डेले समान १७ रन जोडे भने आदिल खान १५ र पारस खड्का १० रन बनाएर आउट भए ।
सन्दीपले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । यस्तै विपिन खत्री र अनिल खरेलले २–२ तथा कृष्ण कार्की र र सिद्धान्त लोहनीले समान १ विकेट लिए ।
बागमतीको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको खेलमा बागमती नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो ।
बागमतीले आफ्नो तेस्रो खेल मंगलबार एपीएफसँग खेल्नेछ । यस्तै काठमाडौं मेयर्स ११ ले सोमबार टी-यू मैदानमा त्रिभुवन आर्मीसँग खेल्नेछ ।
प्रतिक्रिया